सभामुख र साउदी राजदूतबीच द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारबारे छलफल
काठमाडौं, असार १७ — सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै दुवै देशका संसद्बीच संस्थागत तथा रचनात्मक सहकार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले साउदी अरेबिया नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुक भएको उल्लेख गर्दै श्रम आप्रवासन क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्नुभयो। साथै, सन् २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव विशेष कार्यक्रमसहित मनाउने तयारी भइरहेको जानकारी दिनुभयो।
सभामुख अर्यालले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी र कृषि क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी र सहयोगको अपेक्षा रहेको बताउँदै नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यताले साउदी पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राख्नुभयो।जवाफमा राजदूत मनिखले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन साउदी अरेबिया प्रतिबद्ध रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्पर्क विस्तारमा थप सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो।
नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा राजदूतावास स्थापना गरेको हो। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन्।

