रास्वपाको नवनिर्वाचित टोलीले लियो शपथ, नेतृत्व औपचारिक रूपमा जिम्मेवारीमा



काठमाडौं, असार १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन। चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभएको हो।

कार्यक्रममा सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहार प्रदान गर्नुभयो। केन्द्रीय सदस्यको शपथपछि पदाधिकारीहरूले पनि शपथ ग्रहण गरेका हुन्।

चितवनको भरतपुरमा असार ७ देखि १२ गतेसम्म सम्पन्न रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित नयाँ नेतृत्व चयन गरेको हो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नुभएको थियो।

महाधिवेशनबाट उपसभापति (खुला) मा डा. स्वर्णिम वाग्ले, उपसभापति (महिला) मा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह तथा सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित हुनुभएको छ।

रास्वपाले खुला, समावेशी तथा सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दै ९९ सदस्यीय केन्द्रीय समिति गठन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्