‘कम्युनिष्ट एकता होइन, कार्यगत एकता आवश्यक’ : अध्यक्ष ओली



काठमाडौं,असार १७ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच औपचारिक एकताभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सम्पर्क विशेष सङ्गठन कमिटीसँग आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नीति, विचार र उद्देश्य मिल्ने व्यक्ति तथा शक्तिहरू कार्यगत एकतामा आउन सक्ने धारणा राख्नुभयो।

उहाँले आफ्नो नेतृत्वको सरकारका पालामा देशको विकास र जनताको हितमा ऐतिहासिक तथा असाधारण काम भएको दाबी गर्दै नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। पार्टी एकताबद्ध भएर अघि बढे फेरि पनि सफल हुने विश्वास व्यक्त गर्दै देशलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, नेता लालबाबु पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्