‘कमजोरी सच्याएर पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ’ – प्रचण्ड



पोखरा, असार १७ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएका कमीकमजोरी सुधार्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रदेशदेखि वडा तहसम्म संगठन विस्तार गर्दै आगामी महाधिवेशनसम्म पार्टीलाई थप सुदृढ बनाइने बताउनुभयो। विगतका कमजोरी सच्याउँदै राष्ट्रिय स्वाधीनता र वर्गीय हितका लागि पुनः दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

प्रचण्डले आगामी महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई वैचारिक तथा संगठनात्मक रूपान्तरणको आधार बन्ने उल्लेख गर्दै नयाँ रणनीति र कार्यनीतिसहित पार्टीलाई अघि बढाइने बताउनुभयो।

यस्तै, पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान अवस्थामा कम्युनिष्ट दलहरूबीच तत्काल एकता सम्भव नरहेको बताउँदै पहिले आफ्नै पार्टीलाई बलियो बनाउन आवश्यक रहेको धारणा राख्नुभयो। राष्ट्रियतामाथि चुनौती देखिएकाले वामपन्थी शक्तिबीच सहकार्य भने हुन सक्ने उहाँले बताउनुभयो।

कार्यक्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे, देवेन्द्र पौडेल, श्रीनाथ बराल, ज्ञानु आचार्य, शिव बास्तोला, कृष्ण नेपाली र गायत्री गुरुङलगायत नेताहरूले पनि मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्