‘नेपाली ब्रो’को बयानमा डरलाग्दो खुलासा : प्रेम, अविश्वास र अदालतसम्म पुगेको सम्बन्धको दुःखद अन्त्य



काठमाडौं,असार १८— नेपाली सेनाकी जमदार ईश्वरी भुजेल हत्या प्रकरणमा उनका पति तथा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित कुमार थापा मगरसहित चार जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

प्रहरी अनुसन्धानका क्रममा कुमारले दिएको बयानले वर्षौंदेखिको वैवाहिक तनाव, सामाजिक सञ्जालबाट सुरु भएको अर्को प्रेम सम्बन्ध, अदालतमा चलिरहेका कानुनी विवाद र अन्ततः आवेगमा भएको हत्यासम्मको घटनाक्रम उजागर गरेको हो ।

बयानअनुसार कुमार र ईश्वरीको चिनजान नेपाली सेनाको सैनिक ब्यान्डमा तालिमका क्रममा भएको थियो। चिनजान प्रेममा परिणत भएपछि उनीहरूले प्रेम विवाह गरेका थिए। केही वर्षपछि कुमारले नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारी रोजे। नेपाल फर्किएपछि उनी रेस्लिङ र टिकटकमार्फत ‘नेपाली ब्रो’का रूपमा चर्चित बने। सामाजिक सञ्जालमा विभिन्न महिलासँग भिडियो बनाउन थालेपछि श्रीमतीसँग अविश्वास, विवाद र पारिवारिक कलह सुरु भएको उनले बताएका छन्।

अनुसन्धानमा उनले प्रतिक्षा आचार्यसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। उक्त सम्बन्ध सार्वजनिक भएपछि ईश्वरीले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि वैवाहिक करणी र सम्बन्धविच्छेदका मुद्दासमेत अदालतमा पुगे। कुमारका अनुसार उनीहरू एउटै घरमा बस्दै आए पनि बोलचाल बन्द भइसकेको थियो र अदालतमा रहेका मुद्दा मिलाउने प्रयास सफल हुन सकेको थिएन।

२०८३ जेठ २२ गते अदालतमा पेसी तोकिएको दिन आफू बिहान ईश्वरीलाई भेट्न सैनिक ब्यान्ड पुगे पनि भेट हुन नसकेको, त्यसपछि अदालत र साथीहरूसँग समय बिताएर साँझ घर गएको उनले बयानमा उल्लेख गरेका छन्। घरमा छोरा भेट्न नपाएको, कामदारसँग विवाद भएको र अदालतमा श्रीमती उपस्थित नभएकाले आफू अत्यधिक तनाव र रिसमा रहेको उनको भनाइ छ।

त्यसपछि गाडी चलाएर निस्कने क्रममा बाटोमा स्कुटरमा घर फर्किरहेकी ईश्वरीलाई देखेपछि गाडी रोकेर चक्कु लिएर पछ्याएको र प्रतिकार गर्ने क्रममा घाँटीमा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन्। घटनापछि चक्कु फालेर गाडीमा फर्किएको र केही समयपछि प्रहरीको नियन्त्रणमा परेको बयानमा उल्लेख छ।

कुमारले श्रीमतीको हत्या आफूले नै गरेको स्वीकार गर्दै कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। साथै, सहअभियुक्त बनाइएका आफ्ना भाइ विक्रम थापा मगर, प्रतिक्षा आचार्य र पुजन थापा क्षेत्रीको घटनामा प्रत्यक्ष संलग्नता नरहेको दाबी पनि गरेका छन्।

प्रहरीले भने अनुसन्धानका आधारमा कुमार थापा मगर, विक्रम थापा मगर, प्रतिक्षा आचार्य र पुजन थापा क्षेत्रीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरेको जनाएको छ। नोट: यो विवरण प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले दिएको बयानमा आधारित हो। मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले अन्तिम सत्य तथ्य र कानुनी जिम्मेवारी अदालतको अन्तिम फैसलाबाट मात्र निर्धारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्