पक्राउअघि उपस्थितिको सूचना दिनुपर्ने प्रस्ताव
काठमाडौं, असार १८ – सरकारले जघन्य वा गम्भीर कसुरबाहेक अन्य फौजदारी कसुरमा पक्राउ गर्नुअघि सम्बन्धित व्यक्तिलाई अनुसन्धान अधिकारीसमक्ष उपस्थित हुन सूचना दिनुपर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन विधेयकको मस्यौदामा सूचना दिएपछि पनि उपस्थित नभए मात्र पक्राउ गर्न सकिने व्यवस्था राखिएको छ।
विधेयकमा अनुसन्धानका लागि हिरासत अवधि घटाउने, आवश्यकताभन्दा बढी सम्पत्ति रोक्का नराख्ने, केही मुद्दामा मिलापत्रको दायरा विस्तार गर्ने तथा थुनाको विकल्पमा विद्युतीय निगरानीसहित स्थानहदको व्यवस्था गर्न सकिने प्रस्ताव पनि समावेश गरिएको छ।

