अन्तिम चरणमा संविधान संशोधन प्रतिवेदन, असार मसान्तसम्म बुझाइने
काठमाडौँ, असार १८ । संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ।
कार्यदलले सबै सरोकारवालासँग सुझाव संकलन गरी धारागत छलफलपछि असार मसान्तसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको सदस्यसचिव लीलाधर सुवेदीले जानकारी दिनुभयो।
कार्यदललाई नागरिक तहबाट फोन, इमेल, ह्वाट्सएप र सामाजिक सञ्जालमार्फत करिब ४४ हजार सुझाव प्राप्त भएको छ। ती सुझावको विश्लेषण गरी महत्वपूर्ण विषय प्रतिवेदनमा समेटिने जनाइएको छ।
कार्यदलले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दल, कानुनविद्, कूटनीतिज्ञ, पत्रकार, उद्योगी–व्यवसायी, युवा तथा अन्य सरोकारवालासँग समेत छलफल गरेर सुझाव संकलन गरेको छ।
कांग्रेस र एमालेले भने कार्यदलमा प्रतिनिधि पठाएका छैनन्।

