कर्णालीमा बस खस्यो, एक जनाको शव फेला; यात्रु संख्या अझै अज्ञात
दैलेख, असार १८ — दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार कर्णाली नदीमा यात्रुवाहक बस खस्दा एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिका जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको बस कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलबाट एक जना घाइतेको उद्धार गरिएको भए पनि उहाँ बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ। गाडी नदीको गहिराइमा डुबेकाले बस र अन्य यात्रुको खोजी कार्यमा कठिनाइ भइरहेको छ।
घटनास्थलमा फेला परेको चलानीमा रास्कोट नगरपालिका–२ की सिर्जना खड्काको नाम उल्लेख छ। साथै वडा नम्बर ८ का अर्का एक व्यक्तिको मोबाइल नम्बर मात्र भेटिएको छ, तर उक्त नम्बरमा सम्पर्क हुन सकेको छैन।
प्रहरीका अनुसार बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। यात्रुको विवरण संकलन गर्न यातायात समितिले काउन्टरमा खटिएका कर्मचारीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।
हाल स्थानीयवासी, प्रहरी र अन्य सुरक्षाकर्मीले बेपत्ता बस तथा यात्रुको खोजी कार्यलाई तीव्रता दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

