मन्त्रिपरिषद्का १० निर्णय: गोरखापत्रमा हिक्मतबहादुर रावल नियुक्त, ८ एआईजी सरुवा
काठमाडौं, असार १८ — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै, राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय पनि गरिएको छ।
गृह मन्त्रालयको प्रस्तावअनुसार नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गर्ने निर्णय गरिएको छ। त्यस्तै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्का तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय भएको छ।
बैठकले ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३’, ‘शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३’, ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ समेत स्वीकृत गरेको सरकारका प्रवक्ताले जानकारी दिए।


