नयाँ बसपार्कमा यात्रुलाई हैरानी दिने २३ जना पक्राउ



काठमाडौँ, असार १८ : काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यात्रु तान्ने, झोला खोस्ने तथा अनावश्यक हैरानी दिने गतिविधिबारे प्राप्त जनगुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पक्राउ पर्नेहरू विभिन्न जिल्लाका रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

ट्राफिक प्रहरीले नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै यात्रुको सहज आवागमन सुनिश्चित गर्न यस्ता निगरानी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्