आज रातिदेखि केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौँ, असार १८ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भएको छ। अहिले बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

शुक्रबार हिमाली र पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै शनिबार पनि हिमाली र पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्