पेट्रोल पम्पले इन्धन बिक्रीवितरण अवरुद्ध गरे लाखौँ जरिवाना र आपूर्ति रोक्का हुने



काठमाडौं,असार १९ । सरकारले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा जानाजानी अवरोध गर्ने पेट्रोल पम्पमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ। अब इन्धन बिक्रीवितरणमा व्यवधान सिर्जना गर्ने पम्पलाई तीनदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिने तथा पाँचदेखि १५ दिनसम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्का गरिने कानुनी प्रावधान लागू गरिएको छ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। बुधबार देशभर केही पेट्रोल पम्पका कारण इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरेको जनाएको छ।

संशोधित विनियमावलीको दफा २९(घ)(१) मा विक्रेताले ‘नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ व्यवस्था थप गरिएको छ।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरे तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का हुनेछ। दोस्रो पटक कसुर दोहोरिए छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म पेट्रोल तथा डिजेलको आपूर्ति रोक्का गरिने प्रावधान राखिएको छ।

प्रतिक्रिया दिनुहोस्