मनसुनभर मेलम्चीको पानी बन्द, वैकल्पिक स्रोतबाट खानेपानी वितरण गरिने



काठमाडौँ,असार १९: मेलम्ची खानेपानी विकास समितिले मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ।

समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान र बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा तथा लेदो प्रवेश गर्ने जोखिम बढेकाले आजदेखि पानी पथान्तरण रोकिएको जनाएको हो।

समितिका सूचना अधिकृत मधु तिमल्सेनाका अनुसार नदीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुन सक्ने, सुरुङको संरचनामा असर पुग्न सक्ने तथा सुरुङभित्र जमेको लेदो सफा गरी निरीक्षण र मर्मतसम्भार गर्नुपर्ने भएकाले आयोजना अस्थायी रूपमा बन्द गरिएको हो।

उनले अत्यधिक वर्षाका कारण मुहान क्षेत्रको माथिल्लो भागमा रहेको गेग्रान र पहिरो जुनसुकै बेला बगेर सुरुङमा प्रवेश गर्न सक्ने तथा कर्मचारीको आवतजावतसमेत कठिन बनेको बताए।

समितिका अनुसार हाल वैकल्पिक प्रणालीमार्फत पानी व्यवस्थापन भइरहेको छ। मनसुनपछि सकेसम्म चाँडो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पठाइने र यस अवधिमा वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी उपभोक्तालाई नियमित वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने जनाइएको छ।

विसं २०७८ मा आएको विनाशकारी बाढीले मेलम्ची आयोजनाको अम्बाथानस्थित हेडवर्क्स, सडक पहुँचलगायत संरचनामा ठूलो क्षति पुर्‍याएपछि प्रत्येक वर्ष मनसुन सकिएपछि आवश्यक मर्मत तथा सफाइ गरेर अस्थायी रूपमा पानी पथान्तरण गरिँदै आएको छ। गत असोज २६ गतेदेखि भने सुरुङमार्फत निरन्तर रूपमा पानी आपूर्ति हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्