बैतडीमा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडी, असार १९— बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो करिब ३ः३० बजे बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवन तिमिल्सेनाका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। प्रहरीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

