ऐतिहासिक जितसँगै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा
काठमाडौं,असार २० । इजिप्टले फिफा विश्वकपमा पहिलो पटक नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। अन्तिम ३२ अन्तर्गत डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले इतिहास रचेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंगिएको थियो। सुटआउटमा इजिप्टका कप्तान मोहम्मद सलाहसहित सबै प्रमुख खेलाडीले सफल प्रहार गरे भने अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भयो। इजिप्टका लागि निर्णायक पेनाल्टी होसाम अब्देलमाजिदले गोल गरेका थिए।
खेलको १३औँ मिनेटमा करिम हाफेजको क्रसमा इमाम आशौरले हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए।प्रतियोगितामा यो उनको दोस्रो गोल हो।
अस्ट्रेलियाले भने ५५औँ मिनेटमा बराबरी फर्कायो। एडेन ओ’निलको फ्रिकिक क्लियर गर्ने क्रममा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को अवस्थामा पुगेको थियो।
त्यसपछि दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। अतिरिक्त समयको अन्तिमतिर मोहम्मद सलाहको उत्कृष्ट क्रसमा रामी राबियाको हेडरलाई अस्ट्रेलियाली गोलकिपर प्याट्रिक बीचले शानदार बचाउ गरेका थिए।
पेनाल्टी सुटआउटमा संयमित प्रदर्शन गर्दै ऐतिहासिक जित निकालेको इजिप्टले अब जुलाई ७ मा हुने अन्तिम १६ को खेलमा साविक विजेता अर्जेन्टिना वा प्रतियोगिताको आश्चर्यजनक टोली केप भर्डेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

