नुवाकोट विदुरमा तेस्रो सन्तान जन्मिए २० हजार प्रोत्साहन भत्ता
नुवाकोट, असार २० — नुवाकोटको विदुर नगरपालिका–४ ले एकै श्रीमान–श्रीमतीबाट तेस्रो सन्तान जन्मिए २० हजार रुपैयाँ प्रोत्साहनस्वरूप पोषण भत्ता उपलब्ध गराउने भएको छ।
वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था समावेश गरेको हो। वडाध्यक्ष निलम बाबु ढुङ्गेलका अनुसार तेस्रो सन्तान जन्माउने दम्पतीलाई २० हजार रुपैयाँ पोषण भत्ता प्रदान गरिनेछ।
पछिल्लो समय घट्दो जनसंख्या वृद्धिदरलाई ध्यानमा राख्दै परिवारलाई सन्तानप्रति सकारात्मक प्रेरणा दिन र दीर्घकालीन रूपमा जनसंख्याको सन्तुलन कायम राख्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका अनुसार यो योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ।

