मकवानपुरको रातोमाटेमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
मकवानपुर, असार २० — जनकपुरबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
ना ६ ख ७४५७ नम्बरको बस हेटौँडा–वीरगन्ज सडकखण्डमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरी गम्भीर घाइते नौ जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाएका छन्।
बसमा ३० देखि ३५ जना यात्रु सवार रहेको र अन्य यात्रु सामान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
दुर्घटनापछि बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका–८ निवासी ५० वर्षीय धनीराम विश्वकर्मालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

