राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग
काठमाडौं, असार २० — राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग तथा सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको उल्लेख गर्दै तत्काल मर्मतसम्भार गरी यातायात सेवा सहज बनाउन आग्रह गरे।सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउँदै मुग्लिन–नारायणगढ–काठमाडौं सडकखण्डसहित डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ भइरहेको उल्लेख गर्दै बर्सेनि दोहोरिने समस्याको दीर्घकालीन समाधान गर्न आग्रह गर्नुभयो।
सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भएको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो।
यस्तै, सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डीएपी महँगो मूल्यमा खरिद गरेको हो कि भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबीचको खरिद मूल्यमा देखिएको अन्तरबारे निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो।
सांसद युवराज शर्माले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरुद्ध भएकाले नियमित आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो भने सांसद सुरेशकुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै आजको बैठकमा आफूले कुनै जिज्ञासा नराखेको बताउनुभयो।

