मन्त्री वादी नुवाकोटमा: महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा संवेदनशील रहन निर्देशन



नुवाकोट, असार २० । महिला, बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता वादीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सम्पूर्ण नागरिकको अधिकार, सुरक्षा र हित संरक्षणमा संवेदनशील, उत्तरदायी, प्रभावकारी र जनमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।

शनिबार भएको निरीक्षणका क्रममा मन्त्री वादीले जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, महिला हिरासत कक्षलगायत विभिन्न शाखाको अवलोकन गर्नुभएको थियो।

उहाँले शान्ति–सुरक्षा, कानुनी शासन तथा नागरिकको विश्वास कायम गर्न नेपाल प्रहरीले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बिपिन कार्कीका अनुसार मन्त्री वादीको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्