सरकारको १०० दिन : राहदानी घरदैलोमा, सेवा प्रवाह थप नागरिकमैत्री



काठमाडौं, असार २० । नेपाल सरकारले ‘सरकारी सेवा घरघर’ अभियानलाई कार्यान्वयन गर्दै हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घरदैलोमै पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकमैत्री सेवा प्रवाहमार्फत सरकारप्रतिको विश्वास र भरोसा बढाउने उद्देश्यले अभियान अघि बढाइएको बताउनुभयो।

सरकारका अनुसार हालसम्म दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। तीमध्ये पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्‍याइसकिएको छ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन फ्रन्ट डेस्कमा कार्यरत करिब ५०० कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत तालिम प्रदान गरिएको पनि सरकारले जनाएको छ।

यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले अब सोही कार्यालय तथा १२० स्थानीय तहबाट स्थायी लेखा नम्बर (प्यान) सहित करदाता सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

सरकारले छपाइ हुन बाँकी सवारीचालक अनुमतिपत्रमध्ये हालसम्म २३ लाख ७५ हजार १८१ थान छापिसकेको र असार मसान्तसम्म २९ लाख थान छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ।

यसका साथै जिल्ला प्रशासन कार्यालयबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह विस्तार गर्न कार्यदलको सुझावअनुसार हाल ३२ जिल्लामा एकद्वार सेवा प्रणाली कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको सरकारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्