‘विदुर मेरो पनि नगर हो’ : मेयर बन्ने चाहनासहित अध्यक्ष तामाङको राजनीतिक संकेत
नुवाकोट, असार २० । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आगामी स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गर्दै आफ्नो भावी राजनीतिक गन्तव्य विदुर हुने संकेत गरेका छन्।
शनिबार विदुर नगरपालिका–२ स्थित विदुर पितृमोक्ष धाम क्रियापुत्री कल्याणकारी संस्थाको भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले नेपालको संविधान–२०७२ अनुसार लगातार दुई कार्यकाल गाउँपालिका अध्यक्ष भइसकेपछि तेस्रो पटक सोही पदमा उम्मेदवार बन्न नपाइने व्यवस्थाका कारण अब आफ्नो राजनीतिक यात्रा विदुर नगरपालिकातर्फ केन्द्रित हुन सक्ने बताएका हुन्।
कार्यक्रममा उनले विदुरलाई आफ्नो लागि नयाँ वा केवल छिमेकी नगर नभई ‘आफ्नै नगर’ जस्तै रहेको उल्लेख गर्दै यस क्षेत्रको सामाजिक, धार्मिक तथा सार्वजनिक पूर्वाधार विकासमा आफू र पञ्चकन्या गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको दाबी गरे। तामाङले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, अदालत, देवीघाटस्थित क्रियापुत्री भवन, निर्माणाधीन अस्पताललगायत विभिन्न सरकारी तथा सामाजिक संस्थाको विकासका लागि बजेट विनियोजन र सहकार्य गरिएको उदाहरण प्रस्तुत गर्दै स्थानीय तहबीचको सहकार्यलाई विकासको आधार मानेको बताए।
उनले आफूसँग असीमित आर्थिक स्रोत नभए पनि जनताको सेवा गर्ने दृढ इच्छाशक्ति रहेको उल्लेख गर्दै परिस्थिति अनुकूल बनेमा विदुर नगरपालिकाको नेतृत्व सम्हाल्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।
तामाङको यो अभिव्यक्तिलाई आगामी स्थानीय तह निर्वाचनलाई लक्षित प्रारम्भिक राजनीतिक घोषणाका रूपमा समेत हेरिएको छ। यद्यपि उम्मेदवारीबारे अन्तिम निर्णय भने सम्बन्धित राजनीतिक दलको रणनीति र निर्वाचनको परिस्थितिमा निर्भर रहनेछ।
संस्थाका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विदुर नगरका मेयर राजन श्रेष्ठ, पञ्चकन्या पालिकाका प्रमुख तेजबहादुर तमाङ, विदुर नगरपालिकाका उपप्रमुख प्रभावटी तथा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नम्बर ४ का वडाध्यक्ष निलम बाबु ढुङ्गेल, वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे , वडा नम्बर १ का अध्यक्ष लेलिन रन्जित, कार्यपालिका सदस्य सबु मिजार ,वडा सदस्य गीता देवी तिमिल्सिना, रन्जन थापा मगर तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरुका साथै चन्दादाता लगायत स्थानीय स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

