डोल्पामा मध्यराति बाढीको कहर: एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं, असार २१ — डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक रहेकी छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आज बिहान करिब ३ बजे गाउँमा पसेको थियो।
बाढीमा परेर गम्भीर घाइते भएकी आनन्दी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
घटनामा चाउरी विक (५०), रेउली विक (४४), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) घाइते भएका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।
स्थानीयका अनुसार बाढीले पीडितहरूलाई करिब १५ देखि १६ मिटरसम्म बगाएको थियो। यसका कारण उनीहरूको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना घटनास्थलमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।
प्रहरीका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन, थप उद्धार तथा राहत कार्य जारी रहेको छ।

