लहानमा मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारीको बढी फाइदा



लहान,असार २१ । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमै दोब्बर पुगेको छ। दस दिनअघि प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको मालदह आँप अहिले १०० रुपैयाँसम्म पुगेपछि उपभोक्ता मारमा परेका छन्। मूल्य बढे पनि यसको प्रत्यक्ष लाभ भने किसानभन्दा व्यापारीले बढी लिएको गुनासो उठेको छ।

किसानको बगैंचामा मालदह आँप सकिन लागेकाले मूल्य बढ्नु स्वाभाविक भए पनि बजार व्यवस्थापनको अभाव, अनुगमनको कमी र उचित मूल्य निर्धारण नहुँदा व्यापारीले मनोमानी मूल्य लिने गरेको उपभोक्ताको आरोप छ।

लहान–१ का नेनीलाल रामले मालदह आँपको मूल्य अप्रत्याशित रूपमा बढेको बताउँदै किसानभन्दा व्यापारीले बढी नाफा कमाइरहेको बताए। उनका अनुसार बजारमा नियमित अनुगमन र मूल्य निर्धारण नहुँदा उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन। उनका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह अब मुस्किलले १० दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र अम्रपाली जातका आँप केही समय बजारमा पाइनेछन्।

सखुवानन्कारकट्टी गाउँपालिकाका कृषक तिरपित यादवले किसानले कहिल्यै पनि आँपको उचित मूल्य नपाउने अवस्था रहेको गुनासो गरे। असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैंचामा आँप कुरेर बस्न नसक्ने र हतारमा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। त्यसरी सस्तोमा खरिद गरिएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गर्ने गरेको उनले बताए।

उनले आँपका लागि प्रशोधन केन्द्र, शीतभण्डार र व्यवस्थित बजारको व्यवस्था नभएसम्म किसानले उचित मूल्य नपाउने धारणा व्यक्त गरे। वरिष्ठ लेखक तथा हुलाकी मार्गका अभियन्ता रामरिझन यादवले सिरहा र सप्तरीका किसानलाई लक्षित गर्दै लहानमा व्यवस्थित आँप बजार सञ्चालन, आँपको ब्रान्डिङ, बिक्री केन्द्र स्थापना तथा आँप महोत्सव आयोजना गर्न सम्बन्धित निकाय सक्रिय हुनुपर्ने बताए। जिल्ला कृषि ज्ञान केन्द्र सिरहा तथा लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा नगरपालिका र अन्य स्थानीय तहले यस्तो पहल गर्न नसक्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्