सरकारको १०० दिन: ‘मोफा मित्र’देखि नयाँ राहदानी प्रणालीसम्म, परराष्ट्रका उपलब्धि सार्वजनिक



काठमाडौं, असार २१ – वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले सेवा प्रवाहलाई सरल, पारदर्शी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने दिशामा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ।

मन्त्रालयका अनुसार विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याइएको छ।कन्सुलर तथा कानुनी परामर्श सेवा पनि सबै जिल्ला र ५३७ स्थानीय तहसम्म अनलाइनमार्फत विस्तार गरिएको छ।

पोर्चुगलमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, दक्षिण–पूर्वी एसियामा अनलाइन स्क्यामिङमा परेका ८१९ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। युएई र साउदी अरबका जेलमा रहेका १६१ नेपालीले पनि क्षमादान पाएका छन्।

पश्चिम एसियामा उत्पन्न तनावका कारण प्रभावित १,०४७ नेपालीलाई सुरक्षित रूपमा स्वदेश ल्याइएको छ भने मन्त्रालयमा २४ घण्टे आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको छ। राहदानी सेवामा सुधार गर्दै नयाँ राहदानी प्रणाली असार २९ गतेदेखि लागू हुने तयारी पूरा भएको मन्त्रालयले जनाएको छ। हुलाक विभागसँगको सहकार्यमा राहदानी वितरण सेवा विस्तार गर्ने तथा जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्था लागू गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै निर्यात, वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन र विकास साझेदारीलाई थप प्रभावकारी बनाउने नीति अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ। अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नति सन् २०२९ सम्म सार्न संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक प्रक्रिया पनि अघि बढाइएको छ।

यस अवधिमा रोमानिया, नर्वे, स्विट्जरल्याण्ड, इजिप्ट र डेनमार्कसँग द्विपक्षीय परामर्श बैठक सम्पन्न भएका छन्। हालसम्म १३ मुलुकसँग श्रम सम्झौता सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गर्नु, जर्मनीबाट ८०० वर्ष पुराना ऐतिहासिक हस्तलिखित सामग्री नेपाल फर्काउने सम्झौता हुनु तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत पहिलो पटक इन्टर्नसिप फेलोसिप कार्यक्रम सुरु गर्नु पनि मन्त्रालयले १०० दिनका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।

त्यसैगरी, नेपालमा पहिलो पटक राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरिएकामा करिब तीन हजार आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। हुण्डी नियन्त्रण, वैध विप्रेषण प्रवर्द्धन तथा विदेशी उच्चस्तरीय भ्रमणको समन्वयमार्फत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप सुदृढ भएको दाबी पनि मन्त्रालयले गरेको छ।

प्रतिक्रिया दिनुहोस्