‘विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दो, चीन केन्द्रबिन्दु बन्दैछ’ : माधव नेपाल



काठमाडौं, असार २१ – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी विचारधाराको प्रभाव क्रमशः विस्तार हुँदै गएको दाबी गर्नुभएको छ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संयुक्त राज्य अमेरिका, युरोप, ल्याटिन अमेरिका र अफ्रिकी मुलुकहरूमा समेत वामपन्थी शक्तिको प्रभाव बढिरहेको बताउनुभयो। उहाँका अनुसार चीन अहिले विश्व राजनीतिको प्रमुख केन्द्रका रूपमा उदाउँदै गएको छ।

अध्यक्ष नेपालले चीन र भियतनामजस्ता कम्युनिष्ट देशका अनुभवबाट मात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कामबाट पनि सिक्नुपर्ने धारणा राख्नुभयो। विरोधी पक्षका असल अभ्यासलाई आत्मसात् गर्दै आफूलाई अझ सक्षम र उत्कृष्ट बनाउनुपर्ने उहाँको भनाइ थियो।

उहाँले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौतीहरू कायम रहे पनि साम्राज्यवादी शक्तिहरूको प्रभाव कमजोर हुँदै गएको दाबी गर्नुभयो। इरानसँग सम्झौता गर्न बाध्य भएको र चीनको भूमिका बढ्दै गएको प्रसंग उल्लेख गर्दै विश्व शक्ति सन्तुलन परिवर्तनको दिशामा अघि बढिरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा अध्यक्ष नेपालले पार्टी कार्यकर्ताहरूलाई संगठन विस्तारमा सक्रिय हुन आह्वान गर्दै काठमाडौंमा रहेका कार्यकर्ताले राजधानीसँगै आफ्नो गृहजिल्ला र स्थानीय तहसँग पनि निरन्तर सम्पर्क कायम राख्न निर्देशन दिनुभयो। विदेशमा रहेका समर्थक र शुभेच्छुकलाई समेत पार्टीप्रति आशावादी बनाउन सक्रिय भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो।

उहाँले संगठनलाई बलियो बनाउन प्रत्येक कार्यकर्ताले दोहोरो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै पार्टीको पक्षमा जनसमर्थन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्