कोशी–बागमतीको वर्षा प्रणाली दक्षिणतर्फ सर्यो, सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौं,असार २१ । हाल कोशी र बागमती प्रदेशमा सक्रिय वर्षा गराउने प्रणाली दक्षिणतर्फ सर्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सक्रिय प्रणाली पूर्वबाट दक्षिणतर्फ सर्दै गइरहेकाले त्यस आसपासका जिल्ला तथा क्षेत्रमा वर्षाको प्रभाव पर्न सक्ने जनाइएको छ।
गत २४ घण्टाको वर्षा विवरणअनुसार कर्णाली प्रदेशको पश्चिम रुकुमस्थित पिपलचौरमा सबैभन्दा बढी १८७.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै गण्डकी प्रदेशको कास्कीस्थित लुम्लेमा १३६ मिलिमिटर र स्याङ्जाको पञ्चमूल केन्द्रमा १४४ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

