मुसलधारे वर्षापछि बीपी राजमार्ग अवरुद्ध, डाइभर्सन सडक बगायो बाढीले



काठमाडौं, असार २१ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको मुसलधारे वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

रोसीको माथिल्लो क्षेत्रमा भएको भारी वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा आएको बाढीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गका डाइभर्सन सडक बगाएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रहरीका अनुसार रोसी खोलामा थप बाढी आउने सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूको सुरक्षाका लागि राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको हो।

बाढीले चौकीडाँडा र कटुञ्जे क्षेत्रमा निर्माण गरिएका डाइभर्सन सडकमा क्षति पुर्‍याएपछि बीपी राजमार्ग भएर चल्ने सवारी साधनहरूलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटारमा रोकिएको छ।

वि.सं. २०८१ असोज दोस्रो साताको विनाशकारी बाढीले पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको थियो।हाल काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा राजमार्ग पुनर्निर्माणको काम जारी रहेकै बेला पुनः आएको बाढीले डाइभर्सन सडकमा क्षति पुर्‍याएपछि यातायात प्रभावित बनेको हो।

प्रतिक्रिया दिनुहोस्