“निजी क्षेत्रलाई ठगजस्तो व्यवहार गरियो, लगानीको वातावरण बिग्रियो” – गगन थापा



काठमाडौं, असार २१ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधीसरह व्यवहार गरेको आरोप लगाउनुभएको छ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आर्थिक अपराधविरुद्ध सरकारले कानुनी प्रक्रियाअनुसार अघि बढाएको कारबाहीमा कांग्रेसको पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभयो। तर, त्यसको नाममा सम्पूर्ण निजी क्षेत्रलाई ठगजस्तो व्यवहार गर्नु उचित नभएको उहाँको भनाइ थियो।

उहाँले सुशासन कायम गर्न तथा आर्थिक अपराधमा संलग्न जोसुकैलाई पनि व्यक्ति, नेता वा नातागोताको आधारमा नभई कानुनअनुसार कारबाही गर्नुपर्नेमा कांग्रेस सरकारको पक्षमा रहेको बताउनुभयो।

सभापति थापाले सरकारको कार्यशैलीका कारण निर्माण व्यवसायी, बैंकर तथा अन्य निजी क्षेत्रका व्यवसायी त्रसित बनेको दाबी गर्नुभयो। निजी क्षेत्रलाई नै शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले लगानी, उद्यमशीलता र आर्थिक गतिविधिमा नकारात्मक असर परेको उहाँको टिप्पणी थियो।

उहाँले मुलुकमा भयको वातावरण सिर्जना भएकाले नयाँ व्यवसाय सुरु गर्नसमेत मानिसहरू हिच्किचाइरहेको उल्लेख गर्दै सरकारले न्यून, मध्यम तथा ठूलो पुँजी परिचालन गर्न सक्ने सबै वर्गमा आत्मविश्वास जगाउन नसकेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्