बीपी प्रतिष्ठान सुधारमा सरकार सक्रिय, स्वास्थ्य सेवा स्तरोन्नतिको काम तीव्र बनाइने



धरान,असार २२ । गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै स्वास्थ्य सेवा सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम तत्काल अघि बढाइने बताउनुभएको छ।

मन्त्रीद्वयले प्रतिष्ठानका पदाधिकारीसँग करिब तीन घण्टा छलफल गर्दै सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास तथा देखिएका समस्याबारे जानकारी लिनुभएको थियो। छलफलमा एमआरआई मेसिन जडान, एमसीएच भवन सञ्चालन, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठानमा सुशासन कायम गर्ने विषयमा विशेष रूपमा छलफल भएको सुनसरी जिल्लाका जेन्जी संयोजक नवीन राईले जानकारी दिनुभयो।

गृहमन्त्री गुरुङले मेडिकल सेवा, एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्य बिमा तथा अन्य बेथितिको शीघ्र समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरी काम अघि बढाउन निर्देशन दिनुभयो। साथै, प्रतिष्ठानमा यही महिनादेखि प्रत्येक महिना सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिनुभएको जनाइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले आवश्यक बजेट विनियोजन भइसकेकाले अब सुधारका काम तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको प्रक्रिया अघि बढिसकेको, डायलाइसिस सेवाको स्तरोन्नति गरिने तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो। मन्त्रीद्वयले प्रतिष्ठानको नयाँ भवनको समेत निरीक्षण गर्नुभएको थियो।

यसैबीच, गृहमन्त्री गुरुङले धरान भ्रमणका क्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नुभयो। भेटमा ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भइसकेको तथा महिला सुधार केन्द्रको नयाँ भवन निर्माणबारे छलफल भएको जानकारी दिइयो।

उता, सांसद अशोककुमार चौधरी, केपी खनाल र सागर ढकालले धरानस्थित कृषिउपज बजारस्थलको अनुगमन गर्नुभयो। सो अवसरमा सांसद खनालले धरानलाई श्रमदानको शहरका रूपमा देशभर परिचित गराएको उल्लेख गर्दै यसको निरन्तरताले धरानको पहिचान अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्