‘जनताको काममा लापरबाही गर्नेलाई छुट छैन’ – मन्त्री लम्साल



तनहुँ,असार २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जनप्रतिनिधि वा सार्वजनिक पदाधिकारी जो–कोहीले जनताको काममा लापरबाही गरे कानुनअनुसार कारबाही हुने बताउनुभएको छ।

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री लम्सालले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने बताउनुभयो।

उहाँले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने व्यक्तिबारे सम्बन्धित निकायमा सूचना दिन आग्रह गर्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याइने दाबी गर्नुभयो। सरकार जनताको सेवा, सुशासन र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले जनविश्वासअनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मन्त्री लम्सालले स्थानीय तहका प्रमुख वा अन्य जिम्मेवार पदाधिकारीले नागरिकको काम नगरेको, अपमानजनक व्यवहार गरेको वा सेवा प्रवाहमा लापरबाही गरेको पाइए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो। त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो।

प्रदेश सरकारका मन्त्रीहरूको हकमा पनि यही व्यवस्था लागू हुने उल्लेख गर्दै उहाँले जनअपेक्षाविपरीत काम गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो। वर्तमान सरकारले गफभन्दा कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो।

कार्यक्रममा मन्त्री लम्सालले देशमा सुशासन कायम गर्न, बेथिति अन्त्य गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक र पार्टी कार्यकर्ताबाट रचनात्मक सहयोग तथा सूचनाको अपेक्षा गरिएको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्