भारी वर्षापछि बीपी राजमार्ग पुनः अवरुद्ध, डाइभर्सन बगाउँदा यातायात ठप्प



काभ्रेपलाञ्चोक,असार २२ । आइतबार दिउँसो काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ।

रोसीको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा आएको बाढीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गका डाइभर्सन सडक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नमोबुद्ध र पनौती क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जनाएको छ। रोसी खोलामा थप बाढी आउन सक्ने जोखिम रहेकाले यात्रुको सुरक्षाका लागि यो निर्णय गरिएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाढीले चौकीडाँडा र कटुञ्जे क्षेत्रमा निर्माण गरिएका डाइभर्सन सडकमा क्षति पुर्‍याएको छ। राजमार्ग अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी साधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटारमा रोकिएको छ।

वि.सं. २०८१ असोज दोस्रो सातामा आएको विनाशकारी बाढीले पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको थियो। हाल काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा राजमार्ग पुनर्निर्माणको काम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्