एनपीएलअघि काठमाडौं गोर्खाजलाई एक्स्ट्रिमको साथ, तीन वर्षे मुख्य प्रायोजन सम्झौता



काठमाडौं,असार २२ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँग तीन वर्षे मुख्य प्रायोजन सम्झौता गरेको छ।

यसअघि पनि गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो। नयाँ सम्झौतासँगै कम्पनीले आगामी तीन संस्करणसम्म टोलीको मुख्य प्रायोजकको भूमिका निर्वाह गर्नेछ।

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता भएकाले काठमाडौं गोर्खाजको मुख्य प्रायोजक बन्न पाउँदा उत्साहित रहेको बताउनुभयो।

यसअघि काठमाडौं गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ। करण केसी मार्की खेलाडी तथा कप्तान रहेको टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्