बजेटअनुसार काम गर्ने सरकारको प्रतिबद्धता, शिक्षा–रोजगारीदेखि सगरमाथासम्म नयाँ योजना



काठमाडौं,असार २३ । राष्ट्रिय सभामा विनियोजन विधेयक–२०८३ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्रीहरूले बजेटअनुसार प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

कानुनमन्त्री सोबिता गौतमले बन्ने कानुनहरूको सूची सार्वजनिक गरिने बताउनुभयो भने विज्ञानमन्त्री महावीर पुनले युवा वैज्ञानिकलाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति रहेको जानकारी दिनुभयो।

महिला तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने लक्ष्य र ५० स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने बताउनुभयो। भूमि मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्या पाँच सय दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बिमा सामाजिक सुरक्षा कार्यक्रम भएकाले आगामी वर्ष १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। शिक्षा मन्त्री सस्मित पोखरेलले आर्थिक अवस्था सुधारसँगै शिक्षा बजेट बढाइने बताउनुभयो।

पर्यटनमन्त्री खडकराज पौडेलले सात हजार मिटरभन्दा माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने नयाँ व्यवस्था ल्याउने तयारी रहेको खुलासा गर्नुभयो। श्रममन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै सरकारले रोजगार प्रवर्द्धन दशक घोषणा गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्