पानी अभावले सुस्तायो धान रोपाइँ, देशभर ३२ प्रतिशत मात्रै सम्पन्न



काठमाडौं, असार २३ — असारको तेस्रो साता बितिसक्दा पनि देशभर धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ। कृषि विभागका अनुसार सोमबारसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये चार लाख ४३ हजार ५९५ हेक्टरमा मात्र रोपाइँ सकिएको छ।

गत वर्ष यही अवधिमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँको गति सुस्त बनेको विभागले जनाएको छ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३१.५ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत, गण्डकीमा ४१ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत र सुदूरपश्चिममा ५७.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

सबैभन्दा बढी धान खेतीयोग्य क्षेत्र रहेको मधेश प्रदेशमा भने रोपाइँको अवस्था सबैभन्दा कमजोर देखिएको छ। त्यहाँ कुल तीन लाख ८५ हजार ९३३ हेक्टर खेतीयोग्य जमिनमध्ये १५.६ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको कृषि विभागले जनाएको छ।

कृषि विज्ञहरूले समयमै पर्याप्त वर्षा नभए उत्पादनमा असर पर्ने चेतावनी दिँदै सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्