हात्ती आतंक रोक्न नयाँ रणनीति बनाइने : गृहमन्त्री गुरुङ
झापा, असार २३ — गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकदेखि जारी मानव–हात्ती द्वन्द्वको स्थलगत निरीक्षण गर्दै पुराना प्रयास प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभएको छ। उहाँले अब वैज्ञानिक अध्ययनका आधारमा नयाँ रणनीति बनाएर दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा गृहमन्त्रीले भारततर्फबाट मेची नदी पार गर्दै आएको हात्तीको बथान प्रत्यक्ष अवलोकन गर्नुभएको थियो। स्थानीयवासीले मेची नदीमा पक्की बाँध निर्माण, विद्युतीय बारको मर्मत, सुरक्षाकर्मीलाई विशेष तालिम र आवश्यक अधिकार उपलब्ध गराउन माग गरेका छन्।
झापामा निर्माण गरिएको ६५ किलोमिटर विद्युतीय बार मर्मत अभाव र विभिन्न कारणले प्रभावहीन बनेपछि हात्तीको आतंक बाहुनडाँगीबाट अन्य क्षेत्रमा समेत फैलिएको छ। सरकारले अब नेपाल–भारत समन्वय र आधुनिक प्रविधिको प्रयोगमार्फत दीर्घकालीन समाधान खोज्ने जनाएको छ।

