तादीमा ६५ दिने बारिष्टा तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण
नुवाकोट,असार २३ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, हेटौंडा र तादी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित ६५ दिने बारिष्टा (कफी तयारी) तालिम सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ प्रमुख अतिथि रहेका थिए भने वडा नं. ३ का वडा अध्यक्ष सोनाम तामाङ अध्यक्षता गरेका थिए। कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष नकुर दोङ तामाङ, कफी प्रशिक्षक सोनाम तामाङ र शिक्षा शर्मा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
तादी गाउँपालिकाका स्थानीय युवा तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको तालिमका सहभागीहरूलाई समापनका अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो।
तालिममार्फत सहभागीहरूले व्यावसायिक रूपमा कफी तयार गर्ने (बारिष्टा) सम्बन्धी सीप तथा ज्ञान हासिल गरेका छन्। प्राप्त व्यावसायिक सीप र प्रमाणपत्रले रोजगारीका अवसर विस्तार गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा आयोजकले जनाएको छ।

