राजविराजमा इ–रिक्साको मनपरी भाडा, २० बाट ३० रुपैयाँ असुल्न थाले चालक



राजविराज, असार २४ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको एक साताभन्दा बढी भइसक्दा पनि सप्तरीको राजविराजमा विद्युत्बाट सञ्चालन हुने इ–रिक्साको भाडा भने उल्टै बढाइएको छ। आधिकारिक निर्णयबिना अधिकांश चालकले न्यूनतम लोकल भाडा २० रुपैयाँबाट ३० रुपैयाँ पुर्‍याएपछि यात्रुहरू अतिरिक्त आर्थिक भार बेहोर्न बाध्य भएका छन्।

स्थानीयका अनुसार पहिले २० रुपैयाँमा तय भएको दूरीका लागि अहिले ३० रुपैयाँ तिर्नुपर्ने अवस्था छ। कुनै सूचना वा सम्बन्धित निकायको स्वीकृतिबिना भाडा बढाइएको भन्दै यात्रुहरूले चालकहरूको मनपरीप्रति असन्तुष्टि जनाएका छन्।

अधिवक्ता डोमन साहले विद्युत्बाट चल्ने इ–रिक्सामा पेट्रोलियम पदार्थको मूल्य घटबढको प्रत्यक्ष प्रभाव नपर्ने भएकाले इन्धनको मूल्यलाई आधार बनाएर डेढ गुणासम्म भाडा बढाउनु न्यायोचित नहुने बताउनुभयो। सञ्चालन खर्च बढेको भए अध्ययनका आधारमा सीमित समायोजन गर्न सकिने भए पनि मनोमानी वृद्धि स्वीकार्य नहुने उहाँको भनाइ छ।

अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेश प्रदेशका अध्यक्ष केदार देवका अनुसार राजविराजमा इ–रिक्साको आधिकारिक लोकल भाडा अझै २० रुपैयाँ नै कायम छ। भाडा बढाउने कुनै निर्णय नभएको अवस्थामा ३० रुपैयाँ असुल्नु नियमविपरीत रहेको उहाँले बताउनुभयो।

यता अखिल नेपाल यातायात सिटी रिक्सा तथा टेम्पो मजदुर समितिका अध्यक्ष विजेन्द्र देवले बढ्दो महँगी र विद्युत् महसुलमा थपिएको करका कारण पुरानो भाडादरमा सेवा सञ्चालन गर्न कठिन भएको दाबी गर्नुभयो। भाडादर पुनर्निर्धारणका लागि राजविराज नगरपालिकालाई पटक–पटक लिखित अनुरोध गरिए पनि हालसम्म निर्णय हुन नसकेको उहाँको भनाइ छ।

राजविराज नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवले नगरपालिकाले इ–रिक्साको नयाँ भाडादर निर्धारण नगरेको स्पष्ट पार्दै चालकहरूले मनोमानी रूपमा भाडा असुलिरहेको विषयमा औपचारिक जानकारी नआएको बताउनुभयो। अब आवश्यक जानकारी संकलन गरी नियमन प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।

स्थानीय तहबाट समयमै निर्णय र प्रभावकारी अनुगमन नहुँदा यात्रुहरू प्रत्यक्ष मारमा परेको भन्दै सर्वसाधारणले मनोमानी भाडा असुली रोक्न तत्काल नियमन गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्