ज्यानसम्बन्धी कसुरमा वडाध्यक्ष पक्राउ, सात दिन म्याद थप



पाँचथर, असार २४ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङ्देम्बेलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आङ्देम्बेलाई सदरमुकाम फिदिमस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन बोलाएर नियन्त्रणमा लिइएको हो। घटनाको अनुसन्धानका लागि पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो।

प्रहरीका अनुसार आङ्देम्बेकै घरमा बस्दै आएका १६ वर्षीय टथेनहाङ आङ्देम्बेको २०८१ साल असार १३ गते सुतिरहेकै अवस्थामा मृत्यु भएको थियो। सोही घटनासम्बन्धी मृतकका आमा लालकुमारी चेम्जोङले दिएको जाहेरीका आधारमा नेपाल सरकारवादी ज्यानसम्बन्धी कसुरमा आङ्देम्बेलाई पक्राउ गरिएको हो।

अदालतले पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घटनासम्बन्धी आवश्यक प्रमाण सङ्कलन तथा थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्