यस्ता छन् मन्त्रिपरिषद्का आठ महत्वपूर्ण निर्णयहरु
काठमाडौं, असार २४। सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई पनि नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले दुई महत्वपूर्ण नियुक्तिसहित आठवटा निर्णय गरेको हो।
बैठकले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। साथै विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ तथा कारागार नियमावली, २०८३ स्वीकृत गरिएको छ।
त्यसैगरी मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

