पोखराको बञ्जीजम्पमा भारतीय पर्यटकको आकर्षण बढ्दो, एक महिनामै साढे ३७ लाख आम्दानी



पोखरा,असार २४ । पर्यटकीय राजधानी पोखरामा सञ्चालन भइरहेको साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। पछिल्लो समय सडक र हवाई पहुँच सहज बन्दै जाँदा भारतीय युवाको समूह दैनिकजसो बञ्जीजम्पका लागि पोखरा पुग्न थालेको व्यवसायीहरूले बताएका छन्।

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालन गरेको बञ्जीजम्पमा गत जेठ महिनामा मात्रै ५०० जनाले जम्प गरेका थिए। तीमध्ये करिब ५० प्रतिशत भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिनुभयो। सोही अवधिमा कम्पनीले रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गरेको छ।

खरेलका अनुसार यस वर्ष वैशाख, जेठ र असार महिनामा बञ्जीजम्प गर्नेको सङ्ख्या विगतको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। विदेशमा रोजगारी र अध्ययनका लागि गएका नेपाली युवा बिदामा स्वदेश फर्किएपछि पोखरा भ्रमणसँगै साहसिक खेलको अनुभव लिने क्रम पनि बढेको उहाँको भनाइ छ।

छ वर्षअघि सञ्चालनमा आएको बञ्जी नेपालले हालसम्म १५ हजारभन्दा बढीलाई बञ्जीजम्प गराइसकेको छ। कम्पनीले प्रतिव्यक्ति रु सात हजार ५०० शुल्क लिने गरेको छ, जसमा फोटो, भिडियो र टिसर्टसमेत समावेश गरिएको छ।

एक सय एक मिटर गहिराइमा हामफाल्ने यो बञ्जीजम्पको मुख्य आकर्षण प्राकृतिक दृश्य रहेको कम्पनीले जनाएको छ। जम्प गर्ने क्रममा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यसँगै तल बगेको सेती खोँच र हरियालीले पर्यटकलाई अविस्मरणीय अनुभव दिने गरेको बताइन्छ।

११ जना पोखरेली युवा उद्यमीको रु आठ करोड २५ लाख लगानीमा निर्माण भएको यस परियोजनामा क्यान्टिलिभर पुलको शैलीमा ३५ मिटर अग्लो टावर र ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ।

बञ्जीजम्प सञ्चालनसँगै स्थानीय स्तरमा पर्यटन व्यवसाय, होटल, रेस्टुरेन्ट, यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढेको छ। कम्पनीमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने हरेक वर्ष नेपाल सरकारलाई दुईदेखि साढे दुई लाख रुपैयाँसम्म राजस्व बुझाउँदै आएको कार्यकारी निर्देशक मीना बरालले जानकारी दिनुभयो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट र हट एयर बेलुनसँगै बञ्जीजम्प पनि पोखराको प्रमुख साहसिक पर्यटन उत्पादनका रूपमा स्थापित हुँदै गएको छ। उहाँले स्थानीय समुदाय, निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गर्दै यस्ता साहसिक पर्यटन गतिविधिको थप प्रवर्द्धन गर्न सके पोखरालाई अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा अझ स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्