पारिवारिक भ्रमणमा नुवाकोट आए प्रचण्ड, काठमाडौं फर्किए
नुवाकोट, असार २४ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणका क्रममा नुवाकोट आएर काठमाडौं फर्किएका छन्।
छोरी गंगा दाहालसहित मंगलबार नुवाकोट आएका प्रचण्डले यसपटक राजनीतिक कार्यक्रमभन्दा पारिवारिक भेटघाट र शान्त वातावरणमा समय बिताएका थिए। जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम ठकुरीका अनुसार भ्रमण पूर्ण रूपमा पारिवारिक भएकाले औपचारिक राजनीतिक कार्यक्रम राखिएको थिएन।
प्रचण्ड विदुर नगरपालिका–२ स्थित एक फार्महाउसमा बसेका थिए। सो क्रममा जिल्ला समन्वय प्रमुख ठकुरी, वडाध्यक्ष लिलानाथ न्यौपाने, नेता बद्री प्याकुरेललगायत केही स्थानीय नेताले उहाँसँग शिष्टाचार भेट गरेका थिए।
बुधबार बिहान उहाँले स्वर्गीय पूर्वउपप्रधानमन्त्री पोस्टबहादुर बोगटीको निवासमा पुगेर उहाँकी धर्मपत्नी राममाया बोगटीको निमन्त्रणामा पारिवारिक भोजन गरेपछि काठमाडौं फर्किएको सचिवालयले जनाएको छ।

