जग्गा विवादमा चक्कु प्रहार, एक जनाको मृत्यु



रौतहट, असार २४ — रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विवादले हिंसात्मक रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किएपछि झगडा हुँदा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि राति ९ः०५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा ८० वर्षीय रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहार गरेको आरोपमा राममहेश्वर साह र घटनामा संलग्न रहेका रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्