‘हेलो सरकार’ निरीक्षण गर्दै मन्त्रीहरूको निर्देशन– नागरिकका गुनासा समयमै सम्बोधन गर्नुपर्ने
काठमाडौँ, असार २४ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गर्दै नागरिकका गुनासो समयमै सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसँगै मन्त्रीद्वयले ‘हेलो सरकार’ शाखाको अवलोकन गर्दै गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फछ्र्योटको अवस्थाबारे जानकारी लिनुभएको हो।
अवलोकनका क्रममा उहाँहरूले हेलो सरकारमा आउने प्रत्येक गुनासालाई गम्भीरतापूर्वक लिएर प्रभावकारी समन्वयका साथ छिटो सम्बोधन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। गुनासोको सङ्ख्या बढ्दै जानुले सरकारप्रति नागरिकको विश्वास बढेको संकेत भएको उल्लेख गर्दै प्राप्त उजुरीको समयमै फछ्र्योटलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
मन्त्रीद्वयले मन्त्रालयसँग सम्बन्धित गुनासा छिटो समाधान गर्न समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने बताउनुभयो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार ‘हेलो सरकार’ सेवा चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि र सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत व्यवस्थामार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
आगामी दिनमा कृत्रिम बौद्धिकतामा आधारित प्रणालीमार्फत गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा सेवाग्राहीलाई प्रगति अवस्थाबारे नियमित जानकारी दिने व्यवस्था लागू गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार असार २४ गतेसम्म ‘हेलो सरकार’ प्रणालीमा एक लाख ३१ हजार ८७५ वटा गुनासा तथा उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ७० प्रतिशत गुनासाको फछ्र्योट भइसकेको छ।
यस्तै, वर्तमान सरकार गठन भएको गत चैत १३ गतेयता हेलो सरकारमा दर्ता हुने गुनासा तथा उजुरी ८३८ प्रतिशतले वृद्धि भएको तथा सो अवधिमा गुनासा फछ्र्योटको दर ९७५ प्रतिशतले बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

