नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, आज र भोलि दुई दिन सेवा बन्द



काठमाडौं,असार २५ — राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने तयारीका कारण दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ।

विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि असार २५ र २६ गते (जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सबै सेवा स्थगित रहनेछन्।

यसअघि विभागले असार १९ गते नै सूचना प्रकाशित गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।

यद्यपि, विभागमा तयार भइसकेका राहदानी भने नियमित रूपमा वितरण गरिने जनाइएको छ। मोबाइलमा राहदानी सङ्कलनका लागि सन्देश (एसएमएस) प्राप्त गरेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्ने विभागले स्पष्ट पारेको छ।

विभागले नयाँ प्रणाली सञ्चालनमा आएपछि राहदानी सेवा अझ प्रभावकारी, सुरक्षित र सहज हुने अपेक्षा गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्