अध्यादेश जोगाउन संसद्मा समयको चाप, चार विधेयक आजै टुङ्ग्याउने तयारी



काठमाडौं,असार २५— अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन बिहीबार राष्ट्रिय सभाले अध्यादेश प्रतिस्थापन गर्ने चार विधेयकमाथि छलफल गरी निर्णय गर्ने तयारी गरेको छ।

विधायन व्यवस्थापन समितिले सम्पत्ति शुद्धीकरण, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक खरिद र सहकारीसम्बन्धी विधेयकमाथि दिनभर चार चरणमा छलफल गरी प्रतिवेदन तयार गर्नेछ। त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउने र प्रतिनिधि सभाबाट स्वीकृत भएपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने कार्यतालिका रहेको छ।

प्रतिनिधि सभाले असार १८ गते चार विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। तर नेपाली कांग्रेस र नेकपाले विभिन्न संशोधन आवश्यक रहेको अडान लिएपछि विधेयकलाई सिधै पारित नगरी समितिमा पठाइएको हो। राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छैन।

संवैधानिक व्यवस्थाअनुसार दुवै सदनको बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण नभए अध्यादेश स्वतः निष्क्रिय हुने भएकाले संसद्मा समयको चाप बढेको छ।

यसैबीच, प्रतिस्थापन विधेयक अघि नबढे विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश स्वतः निष्क्रिय हुनेछन्।

प्रतिक्रिया दिनुहोस्