नुवाकोटमा सवारी साधनको यान्त्रिक परीक्षण, ४२ वटा गाडीको प्राविधिक अवस्था जाँच
नुवाकोट, असार २५ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा सार्वजनिक तथा मालवाहक सवारी साधनको यान्त्रिक परीक्षण अभियान सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको सक्रियतामा यान्त्रिक कार्यालय नुवाकोटका प्राविधिकसहितको टोलीले त्रिदेशीय मार्गअन्तर्गत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा विभिन्न सवारी साधनको प्राविधिक परीक्षण गरेको हो।
परीक्षणका क्रममा सात बस, १० ट्रिपर, सात जिप, चार अटो, १० ट्रक र चार विद्युतीय सवारी गरी कुल ४२ वटा सवारी साधनको यान्त्रिक अवस्था जाँच गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सवारी साधनको प्राविधिक अवस्था, समयमै मर्मतसम्भार तथा नियमित प्राविधिक परीक्षणको अभावका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार यस्ता नियमित परीक्षण अभियानले सवारी साधनको प्राविधिक अवस्था सुधार गर्न, सम्भावित दुर्घटना कम गर्न तथा चालक र यात्रुको सुरक्षामा थप टेवा पुग्ने विश्वास गरिएको छ।

