पोखराको २२ मेगावाट सेतीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु



पोखरा, असार २५ — कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना २०७८ मङ्सिरमा निर्माण सुरु गरिएको थियो। कम्पनीका निर्देशक दीपक बरालका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु गरिनेछ। गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य रहे पनि प्रसारण लाइनका लागि आवश्यक वन क्षेत्रको स्वीकृति ढिलो प्राप्त हुँदा आयोजना सञ्चालनमा ढिलाइ भएको जनाइएको छ।

पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको बाँधबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ। आयोजनामा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएका छन्।

करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्