संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो प्रतिनिधि



काठमाडौं, असार २५ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र पठाउँदै सरकारको निर्णयअनुसार गठित कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी प्रारम्भिक चरणमा सहभागी भए पनि कार्यदलको कामकारबाही सुरुदेखि नै सन्देहास्पद रहेको भन्दै पार्टी सहभागी हुन नसकेको उल्लेख गर्नुभएको छ।

पत्रमा संविधान संशोधनका विषय स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा बहसका लागि अघि सारिएका केही विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको भन्दै एमालेले सरकारसँग आफ्नो धारणा स्पष्ट पार्न माग गरेको उल्लेख गरिएको छ।

एमालेले वर्तमान संविधानका आधारभूत व्यवस्था अझ सुदृढ बनाउने तथा विगतका कमजोरी सुधार गर्ने उद्देश्यका साथ संविधान संशोधन हुनुपर्ने पक्षमा आफू दृढ रहेको जनाएको छ। तर संविधानका आधारभूत विषय नै खल्बल्याउने उद्देश्य देखिएकाले कार्यदलमा सहभागी हुन नसकेको पार्टीको भनाइ छ।

सरकारले एमालेले उठाएका प्रश्नमा अहिलेसम्म कुनै स्पष्ट जवाफ नदिएको उल्लेख गर्दै महासचिव पोखरेलले पार्टीका तर्फबाट सहभागी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्