सेवा प्रवाहमा ढिलाइ रोक्न कर्मचारीका लागि नयाँ आचारसंहिता सार्वजनिक



काठमाडौं,असार २५ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीले अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ आचारसंहिता सार्वजनिक गरेको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहितामा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ नगर्न कर्मचारीलाई स्पष्ट निर्देशन दिइएको छ। कार्यालय समयभित्र बाहिर जानुपर्ने अवस्था आएमा सम्बन्धित सुपरिवेक्षकको अनुमति लिएर लगबुक भरेपछि मात्रै जानुपर्ने व्यवस्था गरिएको छ। साथै, त्यसबारे आफू मातहतका शाखा, महाशाखा तथा कर्मचारीलाई जानकारी गराई सेवा प्रवाहमा अवरोध आउन नदिनुपर्ने उल्लेख गरिएको छ।

आचारसंहिताअनुसार कार्यसम्पादनका क्रममा कुनै समस्या देखिएमा त्यसको समाधानका लागि कर्मचारीले अधिकतम प्रयास गर्नुपर्नेछ। कर्मचारीले कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव वा प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

त्यसैगरी, आफ्नो नाममा रहेको बेरुजु समयमै फर्स्योट गर्नुपर्ने, सेवाग्राही वा सरोकारवालासँग कामको सिलसिलामा कार्यस्थलबाहिर भेटघाट गर्न नहुने, प्रत्यक्ष निजी स्वार्थ जोडिने निर्णय गर्न नपाइने तथा सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य प्रयोजनमा गर्न नहुने व्यवस्था आचारसंहितामा समेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्