निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह



काठमाडौं, असार २५ — प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरूले भोगिरहेका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्